
सिरहा । ठेक्कापट्टा व्यवसायका लागि ट्याक्टर, जेसिवी लगायतका सवारी साधन खरिद गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर चेक बाउन्स गरेका फरार अभियुक्ताई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उच्च अदालत जनकपुरबाट बैकिङ् कसुर मुद्दामा कैदसहित साढे ५६ लाख रुपैयाँ बढी जरिबानाको फैसला सुनाइएका औरही गाउँपालिका १ हरकट्टी घर भएका ३० वर्षीय सुरेन्द्र कुमार यादवलाई बिहीबार पक्राउ गरिएको हो । बैंकिङ् कसुर मुद्दामा सात दिन कैद र ५६ लाख ५० हजार नौ सय ५१ रुपैयाँ जरिबानाको फैसला सुनाइएका यादवलाई अदालतको फैसला कार्यान्वयनको शिलशिलामा गाउँघरमै लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र हरकट्टी प्रहरी चौकीको संयुक्त टोली परिचालन गरी पक्राउ गरिएका यादवलाई शुक्रबार नै सिराहा जिल्ला अदालत उपस्थित गराई सिराहा कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।
अदालतले सात दिन कैद र जरिबाना रकम तिर्न नसक्दा फैसला कार्यान्वयनको क्रममा यादवलाई १० वर्ष थप कैद गर्न सिरहा कारागारलाई पत्राचार गरी कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार जगदिश्वर भट्टराईले बताए । श्रेस्तेदार भट्टराईका अनुसार उच्च अदालतको फैसला अनुसार जरिबाना तिर्न नसक्ने भएपछि थप १० वर्ष कैद थप हुँदा यादव १४ पुस २०८८ सम्म कारागारमा रहनु पर्नेछ ।