कांग्रेसको प्रदेश २ अधिवेशन : उपसभापतिमा सिंह र यादव विजयी

धनुषा । सत्तारुढ नेपाली कांग्रेसको प्रदेश नं. २ को अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार सिंह एक हजार १९ र यादव आठ सय ९५ मतसहित निर्वाचित भएका हुन् । प्रदेश निर्वाचन समितिका अनुसार निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी विनोदकुमार खनालले सात सय ४० र धनलाल ठोकरले छ सय ३६ मत प्राप्त गरेका छन् । प्रदेश समितिको महामन्त्रीमा उपेन्द्रकुमार यादव नौ सय ५९ र बृहस्पतिकृष्ण श्रेष्ठ सात सय ८८ मत प्राप्त गरी निर्वाचित भएका छन् । महामन्त्री पदका निकटतम् प्रतिद्वन्द्वी नरेश यादवले सात सय ७५ र हरेशप्रसाद महतोले सात सय तीन मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीमा १३ मतले पराजित भएका नरेश यादवले मत परिणामप्रति आपत्ति जनाउँदै निर्वाचन समितिमा उजुरी दिएका छन् । समितिले शुरुमा आफूलाई विजयी गरेको भएपनि पछि निर्वाचन समितिले बृहस्पतिलाई विजयी घोषणा गरेको दावी गर्दै यादवले जुरी दिएको बताइएको छ ।
सहमहामन्त्रीमा जयनारायण यादव आठ सय ७९ र परशुराम चौधरी आठ सय २२ मतसहित निर्वाचित भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी विनोद कुमार यादवले छ सय ९१ र नारायण चौधरीले छ सय एक मत ल्याएको निर्वाचन समितिले जनाएको छ । महिलातर्फ सहमहामन्त्रीमा बिन्दु कुमारी यादव आठ सय ८९ मतसहित निर्वाचित भएकी छन् भने निकटतम् प्रतिद्वन्द्वी भिमादेवी शर्माले पाँच सय ३२ मत प्राप्त गरेकी छन् ।
प्रदेश समितिको निर्वाचन अन्तर्गत शुक्रबार प्रदेश सभापतिमा कृष्ण यादव नौ सय ९६ मतसहित निर्वाचित भइसकेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी रामसरोज यादवले आठ सय ५५ मत प्राप्त गरेका थिए । प्रदेश समितिका सदस्य पदको मतगणना भईरहेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । संयोजक गौतमका अनुसार ६७ पदको प्रदेश समितिका लागि गत बिहीबार राती ८ बजेसम्म भएको मतदानमा कुल एक हजार नौ सय ५१ मतदाता मध्ये एक हजार आठ सय ८१ जनले मतदान गरेका थिए ।