
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १० मा पर्ने जिरोमाइलदेखि करिब तीन सय दक्षिणतिर बरियारपट्टि सडक खण्डमा १८ दिनअघि बेवारिसे अवस्थामा भेटिएका शिशुले अभिभावकत्व पाएका छन् ।
शिशु भेटिए लगत्तै अपनाउन चाहने दम्पतीको संख्या बढी भएपनि निश्चित प्रकृया पूरा गरेर योग्य अभिभावकको छनौट गरी शुक्रबार जिल्ला सदरमुकाम सिरहामा शिशुलाई जिम्मा लगाइएको हो । जिल्ला प्रशासन कार्यालयको योग्य अभिभावक छनौट समितिले गरेको छनौटको आधारमा शुक्रबार ललितपुर निवासी इञ्जिनियर दिपक थापा र ज्योति थापाले छोरा शिशुको अभिभावकत्व ग्रहण गरेका छन् ।
जिल्ला प्रशासनको सूचना अनुसार आवेदन दिएकामध्ये प्रारम्भिक छनौटमा परेका तीन दम्पतीको पुनः कागजातको अध्ययन गरी थापा दम्पतीलाई शिशु जिम्मा लगाइएको अभिभावक छनौट समितिका संयोजक समेत रहेका प्रशासकीय अधिकृत भवेश्वर झाले बताए ।
योग्य अभिभावकका मापदण्ड
सडक किनारमा बेवारिशे अवस्थामा भेटिएका शिशुको अभिभावकत्व ग्रहण गर्न चाहने दम्पतीका लागि जिल्ला प्रशासनले २६ मंसिरमा सार्वजनिक सूचना जारी गरेको थियो । सूचना अनुसार शिशुको अभिभावकत्व लिन चाहने दम्पतीको जग्गा, जमिन, आम्दानीको श्रोतसहितको आर्थिक अवस्था, बच्चा भए नभएको, विवाह भएको मिति, बच्चा नहुने मेडिकल रिपोर्ट माग गरिएको थियो । त्यस्तै, दम्पतीको पारिवारिक शिक्षा र संस्कार, पारिवारिक चालचलन, निरोगिताको प्रमाण पत्र, अभिभावकत्व ग्रहण गर्ने दम्पती बसोवास गरिरहेको स्थानीय तहको सिफारिश र दम्पतीको ५५ वर्ष उमेरको हदबन्दी तोकिएको थियो ।
२१ मंसिरको साँझ करिब ७ बजेतिर सडक किनारमा भेटिएपछि शिशुलाई तत्काल उद्धार गरी स्थानीय नयनपुर अस्पतालमा राखिएको थियो । त्यसको भोलिपल्ट जिल्ला सदरमुकामस्थित सिरहा अस्पताल पुर्याएर छ दिनपछि अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सहरुले न्वारन गरी शिशुको आभाषराज नामाकरण गरिदिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले शिशु जन्माएर फालेको ठाउँ, वरिपरिका गाउँ, बच्चा भेटिएको दिनको करिब हप्ता अघिसम्म स्वास्थ्य संस्थाहरुमा जन्मिएका बच्चाको रेकर्ड अध्ययन गरिनुका साथै सोधपुछ गरिरहेको बताए । ‘अहिलेसम्म शिशु फाल्ने व्यक्तिको पहिचान हुन सकेको छैन’ प्रहरी नायव उपरीक्षक बुढाथोकीले भने ‘यद्यपि प्रहरीले प्रयास गरिरहेको छ ।’