दाउराको चिर्पटले हान्दा घाइते श्रीमानको मृत्यु

लहान ।  सिराहाको धनगढीमाई नगरपालिकाको उत्तरी सीमामा पर्ने १४ नं. वडाको मड्यान गाउँमा घरायसी विवादको क्रममा श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हान्दा अत्यधिक रक्तश्राव हुँदा श्रीमानको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार घरायसी विवादको क्रममा गत मंगलबार अपरान्ह श्रीमतीले दाउराको चिर्पटले हान्दा गम्भिर घाइते भएका करिब ४० वर्षीय टेकबहादुर विश्वकर्माको घटनाको भोलिपल्ट बुधबार साँझ मृत्यु भएको हो । विवादको क्रममा श्रीमतीले दाउराको चिर्पटले हानेपछि घाइते भएका विश्वकर्मालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको लहान प्रहरीले जनाएको छ । ‘उपचारको लागि धनगढीमाई ९ मुसहर्नियास्थित आर. के. मडिसिटी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएपछि बुधबार राती मृतकका भाईहरुको गाउँ भुल्केमा पुर्याएर राखिएछ’ लहान प्रहरीका प्रहरी निरीक्षक कैलाश खत्रीले भने ‘घटनाको खवर पाएपछि बिहीबार बिहान मड्यान पुगी घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहान ल्याइएको छ ।’
श्रमिानलाई दाउराको चिर्पट प्रहार गर्ने मतककी श्रीमती करिब ३७ वर्षीया हर्कमाया विश्वकर्मालाई बिहीबार बिहान पक्राउ गरी थप अनुसन्धानका लागि लहान प्रहरीमा राखिएको प्रहरी निरीक्षक खत्रीले बताए । जिल्लाकै दुर्गम मानिने मड्यान गाउँबाट चार भाई बसाईं सरेर १३ नंं वडाको भुल्के गाउँ आएपछि जेठा टेकबहादुर त्यहीं बस्दै आएको धनगढीमाई १३ का वडाध्यक्ष सूर्यमान तामाङ्ले बताए । गाउँमा मजदुरी गरेर एक छोरा, एक छोरी र श्रीमतीसहित चार जनाको परिवारको जीविका चलाउँदै आएका टेक बहादुरको श्रीमतीसँग झगडा हुनुको कारण नखुलेको प्रहरीले जनाएको छ ।