सिरहामा छ वर्षदेखि अवैध रुपमा क्रसर उद्योगहरु संचालन

राज कुमार राउत

सिरहा । मनि, मसल, स्थानीय प्रशासन, जनप्रतिनिधिहरुलाई आर्थिक प्रलोभनमा पारेर क्ररसर व्यवसायीहरुले सिरहामा छ वर्षदेखि नवीकरण नै नगरी १० क्रसर उद्योगहरु अवैध रुपमा संचालन गर्दै आएको पाइएको छ ।
अवैध रुपमा संचालित त्यस्ता क्रसर उद्योगहरुबाट खोला नदीमा अनियन्त्रित दोहन हुनुको साथै प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने राज्यको करोडौं राजश्व समेत खेर गएको छ । सिरहाको लहान, धनगढी, गोलबजार, बन्दीपुरमा लगायतका स्थानहरुमा सन्नी, जानकी, हिमाल, शिवम्, अमर, जयकाली, जगदम्बा, माँ सन्तोषी, कमलामाई एग्रोभेट, नन्दबाबा लगायतका क्रसर उद्योगहरु नवीकरण नै नगरी विगत ६ वर्षदेखि संचालन हुँदै आएको भेटिएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दिपेन्द्र यादव बताउँछन् । ‘घरेलु कार्यालयले नवीकरणको लागि पटक पटक पत्राचार गरिएको भएपनि क्रसर उद्योगीहरुले अटेर गरी अवैध रुपमा उद्योग संचालन गरिरहनु कसको आडमा हो, हामी पनि आश्चर्यमा परेका छौं ।’
आन्तरिक राजस्व कार्यालय सिरहाका प्रमुख राज कुमार खतिवडा जिल्लाका १० क्रसर उद्योगहरुमध्ये लहानस्थित आन्तरिक राजस्व कार्यालयमा जानकी, जगदम्वा, सन्तोषी, कमलामाई क्रसर उद्योग दर्ता नै नभएको र बाँकी छ वटा क्रसर उद्योगहरु पनि कर छली गरी संचालन गरेको बताउँछन् ।
स्थानीय तहमा जनप्रतिनिधिहरु आएको चार वर्ष बित्दै गर्दा नदी तथा खनिजजन्य पदार्थ संकलन बिक्री सम्बन्धी अनुगमन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठकुर अवैध क्रसर उद्योगको अनुगमन गरी कारबाही गर्ने बताउँछन् ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता स्थानीय प्रशासन र जनप्रतिनिधिरुको मिलेमतोमा अवैध रुपमा क्रसर उद्योगहरु निर्वाध रुपमा संचालन भइरहेको बताउँछन् । मिर्चैया र कर्जन्हाका नगर प्रमुखद्वय श्रवण यादव र गंगा पासवनालाई त अवैध रुपमा क्रसर उद्योग संचालन गर्न दिएवापत् पक्की घर नै बनाई दिएको दावी गर्छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आफू भर्खरै मात्र सिरहा आएकोले सबै कुरा जनाकारी नभएको बताए । ‘जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा क्रसर उद्योग संचालन गरिएको छ भने अनुगमन गरेर कारबाही गर्छौं ।’ पैसा र पावरमा स्थानीय प्रशासन, जनप्रतिनिधिलाई प्रलोभनमा पारी सर्वसाधारणलाई थर्काएर डन र माफियाहरुले अवैध रुपमा वर्षौंदेखि संचालन गरिरहेको क्रसर उद्योगहरुलाई कारबाही गरी कानूनको दायारामा ल्याउनु जरुरी रहेको स्थानीय बासिन्दा बताउँछन् ।