
सिरहा । निर्माण व्यवसायीहरुको पेशागत संगठन नेपाल निर्माण व्यवसायी संघ लहान सिरहाका जिल्ला कार्य समितिमा अजय बहादुर राउत (अञ्जय) को पूरै प्यानल निर्वाचित भएको छ ।
संघको १२ औं वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतदानको अन्तिम मतगणना परिणाम अनुसार आगामी तीन वर्षे कार्यकालाका लागि अध्यक्ष राउत, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, कोषाध्यक्ष तथा सहकोषाध्यक्षसहित सात जना पदाधिकारी तथा छ जना सदस्य गरी १३ सदस्यीय प्यानल निर्वाचित भएको निर्वाचन अधिकृत परशुराम निरौलालले जानकारी दिए ।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्ष राउत २१ मतान्तरसहित ९१ मतले निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी दिपक श्रेष्ठले ७२ मत ल्याएका छन् । प्रथम उपाध्यक्षमा अमरनाथ साह एक सय दुई मत र द्वितीय उपाध्यक्ष प्रथमलाल चौधरी ९५ मतसहित निर्वाचित भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी रामचन्द्र साहले ६० र अशोककुमार यादवले ७१ मत पाएका छन् ।
त्यस्तै, महासचिव पदमा कमलप्रसाद यादव एक सय ६ मतसहित निर्वाचित भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी दुरेन्द्रकुमार यादवले ५८ मत ल्याएका छन् । सचिव पदमा अजय जयसवाल एक सय मतसहित निर्वाचित भएका छन् भने जयप्रकाश साहले ६३ मत पाएका छन् । कोषाध्यक्ष तथा सहकोषाध्यक्ष पदमा सुरजकुमार ढकाल र कृष्णप्रताप सिंह तथा सदस्य पदमा फुलगेन सिंह, प्रदिपकुमार यादव, विन्दुकुमार यादव, सन्तोषकुमार साह, प्रमोदकुमार सिंह र मन्टुन चौधरी निर्वाचित भएका छन् ।