सिरहा । नजिकिंदै गरेको दशैं, तिहार, छठ लगायत चाडपर्वमा बढ्न सक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष संचालन गरिएको छ । निर्माणाधीन चार लेनको कमला कञ्चनपुर खण्डमा हुन सक्ने दुर्घटनालाई लक्षित गरी सप्तरी र सिरहाका १७ ठाउँमा यात्रु सहायता कक्ष संचालन गरिएको हो ।
पूर्व पश्चिम सडक अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा सुरुङ्गा नगरका पूर्व नगर प्रमुख मुक्तिनाथ चौधरी, सरुङ्गा १ का वडाध्यक्ष छत्रबहादुर राउत र पोष्टका इञ्चार्ज असइ विलक्षण यादवले सोमबार संयुक्त रुपमा यात्रु सहायता कक्षको उद्घाटन गरे । ‘चाडपर्वको समयमा सडकमा सवारी साधनसँगै यात्रुको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि कक्ष स्थापना र संचालन गरिएको हो’ इञ्चार्ज यादवले भने । कक्ष उद्घाटनको अवसरमा लामो दूरीका रात्री बसका चालक, सहचालक, छोटो दूरीका चालक र यात्रुहरुलाई अविर, खादा पहिर्याई विदाइ गरिएको थियो ।
त्यसको भोलिपल्ट सप्तरीको जिल्ला सदरमुकाम राजविराजस्थित रुपनी सडक मोडमा प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, विभिन्न यातायात व्यवसायी कम्पनीका पदाधिकारीहरु, मजदूर संघ–संगठनका प्रतिनिधिहरु तथा संचारकर्मीको सहभागितामा यात्रु सहायता कक्ष संचालन गएिको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाका ११ स्थानमा यात्रु सहायता कक्ष संचालन गरिएको छ ।
सिरहाका पाँच ठाउँमा यात्र सहायता कक्ष
चाडपर्वमा सडकमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण र यात्रुहरुको सहज आवागमनमा सघाउ पुर्याउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिरहा र ट्राफिक प्रहरी कार्यालय लहानले संयुक्त रुपमा छ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी संचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार ट्राफिक प्रहरीको पहलमा जिल्लाका पाँच ठाउँमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष संचालनमा ल्याइएको हो । लहानस्थित जिल्ला ट्राफिक कार्यालय, बन्दीपुर, मिर्चैया, धनगढी, लहानमा र जिल्ला सदरमुकाम सिरहामा यात्रु सहायता कक्ष स्थापना गरी संचालन गरिएको छ ।