
सप्तरी । जिल्लाको तिरहुत गाउँपालिका ५ मेहता टोल र सुरुङ्गा नगरपालिका ९ टिकुलियामा भएको छुट्टाछुट्टै आगलागीमा पाँच जनाको घरगोठ जलेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार बिहान करिब साढे ११ बजेतिर तिरहुत ५ मेहता टोलका जुगेश्वर यादवको गोठमा बालेको घुरबाट सल्किएको आगलागीमा फुसको घर, जस्तापाताको छाना भएको गोठ र परालको कुन्यु जलेको छ । आगो नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा गोठ घर, खाना पकाउन राखेको दाउरा, जस्ताको छाना र पराल गरी करिब १० हजार रुपैयाँ बराबरको क्षति भएपनि मानवीय तथा चौपाया क्षति भएको छैन ।
त्यही दिन दिउँसो करिब साढे २ बजेतिर सुरुङगा नगरपालिका ९ टिकुलियामा भएको आगलागीमा करिब ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा स्थानीय मो.मञ्जुरको जस्ताले छाएको गोठघर, मो.जाउलको परालले छाएको गोठघर, मो.सहदाफको परालले छाएको गोठघर, मो.दरगैईको परालको टाल जल्दा करिब ४५ हजार रुपैयाँको क्षति भएको सप्तरी प्रहरीका सूचना अधिकारी डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, शम्भुनाथ र लहानबाट गएको बारुण यन्त्र र स्थानीय बान्दिाको सहयोगमा निभाइएको डिएसपी सिंहले बताए ।