
सप्तरी । सप्तरीको राजविराज नगरपालिका १३ की एक महिला आफ्नै घरमा खाना पकाउने क्रममा साडीमा आगो लाग्दा जलेर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार बिहान करिब ११ बजेतिर राजविराज १३ भेल्ही पिपराहीका जितेन्द्र यादवकी श्रीमती करिब २५ वर्षीया द्रोपतीदेवी यादव खाना पकाउने क्रममा जलेर घाइते भएकी हुन् । मोटोको चुलोमा खाना पकाउने क्रममा यादव आफूले लगाएको साडीमा सल्किएको आगोले ढाड भन्दा मुनि पछाडिको भाग जलेर घाइते भएकी हुन् ।
आगोले जलेर घाइते भएकी उनलाई तत्काल उद्धार गरी तत्काल उपचारको लागि जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते यादवको उपचार चलिरहेको र घटनाको विषयमा अनुसन्धान जारी रहेको छ ।
त्यस्तै, जिल्लाको पूर्वी क्षेत्रमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिका १२ हनुमानगर बाँध घर भएका स्थानीय ५० वर्षीय जाहिर खानको परालको टालमा आइतबार दिउँसो आगलागी भएको छ । करिब १० हजार रुपैयाँ बराबरको क्षति भएपनि मानवीय र चौपाया क्षति नभएको उक्त आगलागी नेपाल प्रहरी, नगरपालिकाको बारुणयन्त्र र स्थानीयको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।