
धनुषा । आमसंचार प्राधिकरण मधेश प्रदेशले जनताले सु–सूचित हुन पाउने हकलाई धाक धम्की दिई कुण्ठित पार्न खोज्ने व्यक्ति वा समूहलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ ।
प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले प्रेस विज्ञप्तिमार्फत् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, सप्तरी शाखाका उपाध्यक्ष समेत रहेका कान्तिपुर राष्ट्रि«य दैनिकका उप–सम्पादक अवधेश कुमार झालाई समाचार लेखेकै कारण सामाजिक सञ्जाल मार्फत् ज्यान मार्ने धम्की दिइएपछि दोषीलाई कारबाही गर्न माग गरेको हुन् । अध्यक्ष यादवले राजविराज नगरपालिका कार्यालयसँग सम्बन्धित समाचार लेखेको निहुँमा सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिइनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा नसरुल राजा र मो. सजाद नामको आईडीबाट १९ मंसिरमा ज्यान मार्ने धम्की दिएपछि पीडित पत्रकार झासहित महासंघको सप्तरी शाखाले धम्की दिने व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख समेतलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि गम्भिरतापूवर्क नलिनु अत्यन्तै दुःखद् रहेको उल्लेख छ ।
समाचारको विषयमा चित्त नबुझेमा खण्डन वा कानूनी बाटो हुँदाहुँदै सार्वजनिक रुपमा सामाजिक सञ्जालमार्फत् धम्की दिइएपछि दोषीहरुलाई कारबाही गर्न माग गर्दै महासंघको सप्तरी शाखाले चरणबद्ध आन्दोलन गरिरहेको भएपनि प्रशासनले तदारुकता नदेखाउनुले चिन्तित तुल्याएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भयमुक्त वातावरणमा पत्रकारहरुलाई पत्रकारिता गर्ने माहोलको सुनिश्चितता गर्न सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।