
सिरहा । बाँचुञ्जेल आफ्ना बाबु आमाको सेवा, स्याहार गर्ने छोराछोरीहरुले प्रायः तिनको देहान्तपछि जातीय र धार्मिक संस्कार अनुसारको कर्म गरेसँगै बाबुआमाप्रतिको दायित्व सकिएको मानिन्छ तर कतिपय छोराछोरीले भने आफ्ना दिवङ्गत बाबुआमाको स्मृतिलाई चिरस्थायी बनाउन आफ्नो गाउँठाउँमा विद्यालय, पाटी, पौवा, सार्वजनिक भवन, मन्दिर बनाउँछन् ।
सिरहाको धनगढीमाई नगरपालिका १३ डाबर गाउँमा आफ्ना दिवङ्गत बाबुआमाको नाममा एक छोराले मन्दिर बनाएका छन् । उदयपुरको कटारीमा व्यवसाय गरेर बसिरहेका डाबर गाउँका छोरा जालनारायण श्रेष्ठ र बुहारी मिरा श्रेष्ठले बाबु कृष्णबहादुर श्रेष्ठ र आमा बुद्धलक्ष्मी श्रेष्ठको स्मृतिमा डाबर गाउँमा करिब २५ लाख रुपैयाँ खर्चिएर मन्दिर निर्माण गरिदिएका छन् । वडा कार्यालयले उपलब्ध गराएको करिब एक कठ्ठा ऐलानी जग्गामा श्रेष्ठ दम्पतीले निर्माण गरेको सर्वेश्वर शिव मन्दिरको शुक्रबार नगरका मेयर शिवशंकर महतो र वडाध्यक्ष सूर्यमान तामाङ्ले संयुक्त रुपमा उद्घाटन गरे ।