अन्तर्राष्ट्रिय अपांग दिवसमा विविध कार्यक्रम

सिरहा । ३१ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा सिरहाका विभिन्न ठाउँमा अपांगता भएका व्यक्ति र सरोकारवालाहरुको सहभागितामा र्याली प्रदर्शनसहित अन्तक्र्रिया गरिएको छ ।
लहानस्थित अपांग पुनःस्थापना केन्द्रले शनिबार सहिद चोकबाट अपांगता भएका व्यक्तिहरुको सहभागितामा र्यालीसहित स्थानीय पशुपति मा.वि.मा अन्तक्र्रिया गरेको छ । र्यालीपछि स्थानीय पशुपति आदर्श मा.वि.को प्राङ्गणमा आयोजित ‘स्थानीय तहमा अपांगता भएका व्यक्तिहरुलाई दिइने सेवा सुविधा’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले अपांगता भएका व्यक्तिहरुलाई सेवा प्रवाहमा विशेष सुविधा र पहुँचको व्यवस्था गरिनु पर्ने औंल्याए ।
केन्द्रका अध्यक्ष संजय अग्रवालको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा लहान नगरका उपमेयर रामचलितर महतो, डा. राजिव चौधरी, समग्र जनउत्थान केन्द्रका भैरव गेलाल, भोगेन्द्र महतो, लहान नगरका स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डल, सिएमसीकी रेखा चौधरी लगायतले अपांगता भएका व्यक्तिहरुको हक अधिकार र सेवा सुविधाका लागि सबैको साझा प्रयास रहनु पर्नेमा जोड दिए । लहान गरका विभिन्न वडाका अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको अन्तक्र्रियामा शिक्षक शम्भु यादव नेपालीले स्वागत गर्नु भएको थियो । त्यसैगरी, दलित विकास मञ्चले सिरहाको गोलबजार र कल्याणपुर नगरपालिकामा अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा अन्तक्र्रिया गरेको छ ।


अन्तर्राष्ट्रिय अपांग दिवसको पृष्ठभूमि
संयुक्त राष्ट्रसंघले सन् १९८१ लाई ‘अन्तर्राष्ट्रिय अपाङ्गता वर्ष’ घोषणा गरेसँगै अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा विश्वव्यापी बहसको थालनी हुनुका साथै सन् १९८२ मा अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्ययोजना पारित भएको थियो । त्यसपछि अपाङ्गता भएका व्यक्तिहरुलाई पनि अन्य नागरिक सरह समावेश गर्न सदस्य राष्ट्रहरूलाई उत्प्रेरित गर्न सन् १९८३ देखि १९९२ को अवधिलाई ‘विश्व अपाङ्गता दशक’ घोषणा गरिएको थियो । उक्त दशकको अन्तिम वर्ष सन् १९९२ मा राष्ट्रसंघले ३ डिसेम्बरलाई हरेक वर्ष विश्वभर अपाङ्गता भएका व्यक्तिहरुको दिवसको रूपमा मनाउने निर्णय गरेसँगै नेपालमा पनि सोही वर्षदेखि हरेक वर्ष अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सम्बन्धमा २०२० सालदेखि शिक्षा, स्वास्थ्य, पुनर्स्थापनाको क्षेत्रमा कामको थालनी भएको पाइन्छ । २०३९ सालमा सरकारले अपाङ्गता सम्बन्धी नयाँ ऐन ‘अपाङ्ग संरक्षण तथा कल्याण ऐन’ जारी गर्नुका साथै २०५१ सालमा अपाङ्ग संरक्षण तथा कल्याण नियमावली र विशेष शिक्षा नीति लागू गरियो । ऐन र नीतिहरूको शुरूआतसँगै अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य, उपचार र पुनस्र्थाना सम्बन्धी लक्षित कार्यक्रमहरू सरकारी तथा गैरसरकारी क्षेत्रबाट भइरहेका छन् ।
विश्व स्वास्थ्य संगठन र विश्व ब्याङ्कले सन् २०११ मा प्रकाशन गरेको प्रतिवेदन अनुसार विश्वको कुल जनसंख्याको १० देखि १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । त्यसमा पनि अधिकांश (करिब ८० प्रतिशत) विकासोन्मुख र अल्पविकसित मुलुकमा भएको उल्लेख छ ।