एमाले केन्द्रीय सदस्य रामले गरे पार्टी परित्याग

सिरहा । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रामपृत रामले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।
सिरहाको गोलबजारमा सोमबार बिहान पत्रकार सम्मेलनमार्फत् रामले पार्टी केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकको निर्णय विपरीत एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरुसँग गठबन्धन गरिएको भन्दै आफू पार्टीको साधारण सदस्य समेत नरहने गरी एमाले छोडेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत् उनले पार्टीको केन्द्रीय सदस्य, जिल्ला सहइञ्चार्ज, वर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेश सह इञ्चार्ज, केन्द्रीय सचिव पदसहित साधारण सदस्य समेत नरहने बताए ।
‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादी छवि बनाएका पार्टी अध्यक्ष के.पी. ओलीले नाकाबन्दीका नाइके उपेन्द्र यादवसँग अपवित्र गठबन्धन गरी देश र जनतालाई धोका दिने काम गरे’ पत्रकार सम्मेलनमा उनले भने ‘राजसंस्था पुनःस्थापना, संघीयता खारेज, सनातन हिन्दू राष्ट्रको स्थापना गर्ने जनविरोधी र प्रतिगमनकारीहरुसँग गठबन्धन गरेर पार्टीलाई निजी कम्पनी जस्तो बनाए ।’
‘समग्र पार्टीलाई आसेपासेमार्फत् निजी संस्थाको रुपमा संचालन गरी पार्टीमा लामो समय काम गरेका नेताहरुलाई टिकट नदिएर पंचायतकालीन तस्कर र राजतन्त्र पुनःस्थापना गर्न खोज्ने कमल थापा जस्ता व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउनुले पार्टी नेतृत्व यथास्थितिवादी, प्रतिगामीहरुसँग साँठगाँठ गरेको पुष्टि हुँदैन र ?’ उनले भने ‘पार्टीका सीमित नेताको संसदीय राजनीतिक सुरक्षाका लागि आम कार्यकर्ताहरुको भावनामाथि कुठाराघात गरियो ।’