पोखरी, नदी किनारमा छठ पूजाको रौनक (फोटोफिचर)

सिरहा । छठ पूजाको अवसरमा स्थानीय पोखरी, तलाउ, नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिने ब्रतालु तथा श्रद्धालुहरुको रौनक छाएको छ । सिरहाको लहानस्थित रघुनाथपुर पोखरी, मटियर्वा पोखरी, बलान, खुट्टीखोला लगायतका ठाउँहरुमा आइतबार साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।
सूर्यको पूजाअर्चना गरी मनाईने छठ पर्वको तेस्रो दिन आइतबार कात्तिक शुक्ल षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पाना लगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरी लगायतका परिकारहरु राखेर जलाशयमा शरीर डुबाउँदै अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ ।
अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि राती जलाशय, नदी, तलाउ किनारमा अघ्र्य दिइएका सामग्रीहरु कतिपयले घरमै ल्याएर पुनः भोलिपल्ट झिसमिसमै घाटमा पुर्याउँछन् भने कतिपयले त्यहीं राखेर रातभर नाचगान र रमाईलो गर्छन् । कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ । कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अघ्र्यसहित गरिने छठ पूजाले निरोगी हुने, निःसन्तान दम्पतीले सन्तान प्राप्ति गर्ने, सन्तान अकाल मृत्युबाट जोगिने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ ।