महिलालाई यातना दिएको आरोप लगाउँदै चक्काजाम र ढुंगामुढा, अश्रुग्याँस रवरको गोली प्रहार, छानबिन समिति गठन

सिरहा । उखुबारीमा १७ दिनअघि मृत भेटिएकी बृद्धाको मृत्युको अनुसन्धानको क्रममा प्रहरीले ससुरा र पतिसँगै नियन्त्रणमा लिइएकी महिलालाई चरम यातना दिइएको आरोप लगाउँदै मिर्चैयामा चक्काजाम र ढुंगामुढा भएको छ ।
सिराहाको मिर्चैया नगरपालिका १ रामपुरविर्ताकी करिब ३३ वर्षीया जिवछीदेवी साहलाई प्रहरीले हिरासतमा चरम यातना दिइएको आरोप लगाउँदै सोमबार बिहान करिब साढे ८ बजेदेखि दुई घण्टा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मिर्चैयास्थित इलाका प्रहरी कार्यालय अगाडि टायर बालेर चक्काजाम गर्नुका साथै ढुंगामुढा भएको हो । ढुंगामुढासँगै स्थिति तनावग्रस्त बन्न थालेपछि प्रहरीले बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
त्यसक्रममा प्रहरीले छ राउण्ड अश्रुग्याँस र दुई राउण्ड रवरको गोली प्रहार गरेको सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले बताए । प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार ढुंगामुढा हुँदा असइ अरुणकुमार झाको टाउको फुट्नुका साथै अन्य आठ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीहरुले स्थानीय क्लिनिकमा उपचार गरिएको छ ।
पाँच सदस्यीय छानबिन समिति गठन
प्रहरी हिरासतमा महिलालाई यातना दिइएको आरोपसहित स्थिति उत्तेजक बन्न थालेपछि सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिना, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखसहितको टोली बिहान करिब १० बजे मिर्चैया पुगेको थियो । मिर्चैया पुगेको प्रजिअसहित सुरक्षा अधिकारीहरुको टोलीले आन्दोलनरत पक्षका प्रतिनिधि, मिर्चैया र कर्जन्हाका मेयरसँग संयुक्त छलफल गरेपछि पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।
प्रजिअ कवारीका अनुसार जिल्ला प्रशासन कार्यालय सिराहाका प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशीको संयोजकत्वमा गठन भएको छानबिन समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नागरिक समाजबाट एक÷एक जना रहेका छन् । छानबिन समितिलाई आगामी तीन दिनभित्र छानबिन प्रतिवेदन बुझाउने गरी अख्तियारी दिइएको उनले बताए । छानबिन समितिले औंल्याए अनुसार घटनामा संलग्न दोषी पाइए कानुनी र विभागीय कारबाही गरिने प्रतिबद्धतापछि स्थिति मत्थर भएको थियो ।
यस्तो छ घटना
मिर्चैया नगरपालिका १ की ६५ वर्षीया गुबदीदेवी साह १५ असोजको बिहान कर्जन्हा नगरपालिका १० भलुखोलाको छेउको उखुबारीमा भेटिएको थियो । उनको अघिल्लै दिन हत्या गरी उखुबारीमा फालिएको हुन सक्ने स्थानीयको अनुमान छ । खेतमा गएकी गुबदी साँझसम्म नफर्केपछि भोलिपल्ट मृतककी बुहारी जीवछी र छोरी ललिताले खोज्ने क्रममा आफ्नै खेत नजिकैको उखुबारीमा शव भेटिएको गाउँलेहरु बताउँछन् । ललिताको घर कर्जन्हा १० प्रयागपुरमै भएकाले छोरीकै घरमा राती बसेको हुन सक्ने भन्दै घर परिवारले राती नखोजेर भोलिपल्ट मात्र उनलाई फोन गरेर गुबदी आए नआएको बारेमा सोधखोज गरेका थिए । ललिताले आमा आफूकहाँ नआएको सुनाएपछि लगत्तै माइती पुगेपछि बुहारीसँग मिलेर आमाको खोजी गरेको जनाइएको छ ।


शव भेटिएर पोष्टमार्टम र दाहसंस्कारपछि धार्मिक विधि अनुसार १३ दिनको क्रिया सकिएपछि मिर्चैया प्रहरीले अनसन्धानका लागि शनिबार मृतककी पति ७० वर्षीय मंगल साह र ४० वर्षीय छोरा रामबाबु साह र ३३ वर्षीया बुहारी जीवछीदेवीलाई घरबाट नै नियन्त्रणमा लिएर मिर्चैया ल्याएको थियो । सोधपुछपछि जीवछीलाई भोलिपल्ट आइतबार आफन्तको जिम्मा लगाएर छोडिएको भएपनि एक्कासी प्रहरीले यातना दियो भन्दै चक्काजाम र ढुंगामुढा भएको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर ओलीले बताए । ‘प्रहरी हिरासतमा यातना दिए नदिएको विषयमा छानबिन समितिले पनि अनुसन्धान गर्ला’ उनले भने ।
मिर्चैयाका मेयर श्रवणकुमार यादवले प्रहरी हिरासतमा अभद्र व्यवहार सम्बन्धी मुद्दाका थुनुवासँगको कुराकानी उद्धृत गर्दै अनुसन्धानको नाममा जीवछीलाई थुनुवामै रहेका पतिसँग टाउको ठोक्काउन लगाएको, थप्पड हिर्काउन लगाएको बताए । त्यसबाहेक जीवछीदेवीको शरीरका विभिन्न भागमा कुटपिट गरेको निलडाम रहेकाले प्रहरीले यातना दिएको मेयर यादवले उल्लेख गरे ।