बलात्कार प्रयास गरेको आरोप लागेका लहानका उपमेयर प्रहरीमा हाजिर, आइतबार अदालत लगिंदै

लहान । जागिर लगाइदिन्छु भन्दै आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन भएका सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो शुक्रबार दिउँसो स्वयम् प्रहरीमा हाजिर भएका छन् ।
आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब सवा तीन बजे इलाका प्रहरी कार्यालयमा हाजिर भएका उपमेयर महतोले दिएको निवेदन दर्ता लगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको थियो । महतोको स्वास्थ्य परीक्षणपछि शनिबारसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिरहा जिल्ला अदालतमा पेश गरिने लहान प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।
गत १९ जेठमा आफ्नो कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको आरोप लगाउँदै लहानकी २१ वर्षीया महिलाले लहान प्रहरीमा दिएको किटानी जाहेरी गत ४ साउनमा दर्ता गरी प्रहरीले अनसन्धान थालेपछि उपमेयर महतो सम्पर्कविहीन भएको ५१ औं दिन स्वयम् प्रहरीमा हाजिर भएका हुन् । ‘कानुनी राज्य हो, ममाथि लागेको आरोपको विषयमा अनुसन्धान गर्न सजिलो होस् भन्ने उद्देश्यले स्वयम् प्रहरीमा हाजिर हुन आएको हुँ’ उपमेयर महतोले भने ।
स्वास्थ्य परीक्षण र तीर्थयात्रा गर्न गएको दावी
प्रहरीमा हाजिर हुनुअघि उपमेयर महतोले लहानमा सीमित पत्रकारहरुसँगको भेटघाटमा आफू स्वास्थ्य परीक्षण र तीथैयात्रा गर्न भारतमा रहेको समयमा किटानी जाहेरी पर्यो भन्ने कुरा घर फर्किए लगत्तै थाहा पाएपछि स्वयम् प्रहरीमा जान लागेको बताएका थिए । ‘स्वास्थ्य परीक्षण र तीर्थयात्राका लागि भारत गएपछि १० साउनमा नगरपालिका कार्यालयमा आफू कार्यालयमा उपस्थित हुन नसक्ने जानकारीसहितको निवेदन पनि दिएको थिएँ’ उनले भने ‘निर्वाचनको धपेडीमा बिग्रिएको स्वास्थ्य परीक्षणसँगै भारतको विभिन्न प्रान्तमा रहेका धार्मिक तीर्थस्थल घुम्न ४ साउनमै घरबाट निस्किएको थिएँ’ उनले भने ‘त्यही बीचमा बलात्कार प्रयासको आरोपमा जाहेरी परेको थाहा पाएपछि प्रहरीलाई सहयोग गर्न हाजिर हुन जान लागेको हुँ ।’


लहान जस्तो ठूलो नगरपालिकामा दिनहुँ सेवाग्राहीको भिडभाड रहने भएकाले कार्यकक्षको गोप्य कोठामा बलात्कार प्रयास गरेको भन्ने आरोप झुठो रहेको र आफूलाई फसाउने षड्यन्त्र रहेको उनको दावी थियो । ‘तपाइँलाई फसाउन कसको हात छ’ भन्ने प्रश्नमा चाहिं उनले त्यो समयक्रमसँगै खुल्दै जाने बताए । उपमेयर महतो विरुद्ध बलात्कार प्रयासको आरोपमा किटानी जाहेरी दर्ता भएसँगै प्रहरीले घटनास्थल मुचुल्का उठाएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले बताए ।
कार्यकक्षको गोप्य कोठामा बलात्कार प्रयास
गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्न अपरेटर पदमा छनौट हुन सघाउँछु भन्दै उपमेयर महतोले कार्यकक्षमा बोलाएपछि आफू गएको पीडित महिलाको जाहेरीमा उल्लेख छ ।
११ जेठको बिहान साढे ९ बजे सचिवालयमा बोलाएर करिब ११ बजेतिर कार्यकक्ष प्रवेश गरेका उपमेयर महतोले कार्यकक्षसँगै टाँसिएको गोप्य कोठामा बलात्कार प्रयास गरेको पीडित महिलाको जाहेरीमा उल्लेख छ । उपमेयरको हर्कत विरुद्ध प्रतिवाद गर्दै कार्यकक्षमा चिच्याउन थालेपछि ‘अब केही गर्दिन, हल्ला गरिस् भने तँसहित पतिलाई पनि सिध्याइदिन्छु’ भन्दै धम्क्याएको जाहरीमा उल्लेख छ ।
लहान नगरपालिकाले दर्ता अपरेटर पदका लागि १२ जेठमा सूचना प्रकाशन गर्नु एक दिन अघि कुराकानी गर्न उपमेयरले बोलाएपछि पीडित महिला नगरपालिका गएको बताइएको छ । गत ३० वैसाखको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट पाँच दलीय गठबन्धनका उम्मेद्वार रहेका महतो उपमेयर पदमा निर्वाचित भएका थिए ।