सप्तरीमा करेण्ट लागेर तीन जनाको मृत्यु

सप्तरी । जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा करेण्ट लागेर दुई दिनको अवधिमा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मंगलबार र बुधबार गरी दुई दिनको अवधिमा राजगढ गाउँपालिका २ कमलपुर र कञ्चनपुरुप नगरपालिका ६ घोघनपुरमा करेण्ट लागेर गर्भवतीसहित तीन जनाका मृत्यु भएको हो । घोघनपुर गाउँका नरेश सरदारकी श्रीमती करिब २० वर्षीया अञ्जली सरदार आँगनमा रहेको चापाकलमा जडान गरेको कल चलाउँदा करेण्ट लागेपछि बचाउन गएका ४० वर्षीय मधु भनिने सौदानन्द सदरदारको समेत गम्भिर घाइते भएको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
करेण्ट लागेर गम्भिर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको भएपनि चेकजाँच गर्दा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करिब सात महिनाकी गर्भवती रहेकी मृतक अञ्जलीसहित दुवैको पोष्टमार्टम गरी शव परिवारजनलाई बुझाएर थप अनुसन्धान भइरहेको छ ।
राजगढ गाउँपालिका २ कमलपुर गाउँका करिब ५६ वर्षीय शिवशंकर साह आफ्नै घरको आँगंनमा रहेको कलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा अचानक करेण्ट लागेर मृत्यु भएको छ । करेण्ट लागेर मृत्यु भएको खवर पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर घटनास्थलमा मृचुल्कासहित शव पोष्टमार्टम गरेर सम्बन्धित परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।