
सप्तरी । पूर्वी तराई क्षेत्रमा सिनो बहिष्कार, जातीय भेद्भाव, छुवाछूत तथा भूमिहीन हरवा चरवा आन्दोलनका अगुवा बलदेव रामको पाँचौं स्मृति दिवसमा उनले छोडेका अधुरा कामहरुलाई पूरा गर्नु पर्नेमा जोड दिइएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका ४ कनकपुरमा दिवङ्गत रामद्वारा स्थापित जनचेतना दलित संगमको सभाकक्षमा मंगलबार दिउँसो आयोजित पाँचौं स्मृति दिवसमा वक्ताहरुले रामको नेतृत्वमा भएका नागरिकता र मोहीयानी हक प्राप्ति, थातथलोको सुरक्षा हुन सके मात्र उनको सपना पूरा हुने भएकाले आन्दोलनको निरन्तरतामा जोड दिए । कार्यक्रममा सुरुङ्गा नगरपालिकाका निवर्तमान प्रमुख मुक्तिनाथ चौधरीले भूमिहीन, दलित हरवा चरवाका लागि आफ्नो कार्यकालमा जोतभोग गर्दै आएको जग्गाको निस्सा केही ठाउँमा बाँडिएको भएपनि पछिल्लो समय रोकिएकाले त्यसको निरन्तरताका लागि स्थानीय सरकारलाई दवाव दिन आग्रह गरे ।
‘अधिकारका लागि संगठित रुपमा आवाज उठाउनु पर्छ’ निवर्तमान प्रमुख चौधरीले भने ‘बलदेवले आफ्नो गाउँबाट थालेको आन्दोलनकै कारणले सिनो बहिष्कार आन्दोलन सफल भएको हो ।’ बलदेवले आफ्नो जीवनकालमा अधिकारविहीन दलित, भूमिहीन, नागरिकताविहीनहरुको पक्षमा अनवरत रुपमा गरेको आन्दोलनले दलितहरुले थोरै भएपनि अधिकार पाएको चर्चा गर्दै उनले भने ‘थप अधिकारका लागि आन्दोलनको निरन्तरतासँगै शिक्षामा पनि जोड दिइनु पर्छ ।’
सुरुङ्गा ४ का वडाध्यक्ष देवेन्द्रप्रसाद चौधरीले बलदेवले सिनो फाल्नै पर्ने परम्परा विरुद्ध सामाजिक विद्रोह गरेको चर्चा गर्दै सामाजिक आन्दोलनलाई थप सशक्त बनाए मात्र रामको साँचो अर्थमा श्रद्धाञ्जलि हुने बताए । स्थानीय दलित महिला अगुवा बेचनीदेवी सदाले घुम्टोभित्र बस्न बाध्य महिलाहरुलाई सामाजिक आन्दोलनमा जोड्न बलदेव प्रेरणाको स्रोत भएको बताइन् ।
को हुन् बलदेव ?
करिब दुई दशक अघि सप्तरीको तत्कालीन दौलतपुर गाविसबाट कथित दलितहरुले सिनो फाल्नै पर्ने कुरीति विरुद्ध सामाजिक आन्दोलनमार्फत् विद्रोह गरेका रामको नेतृत्वमा सप्तरी, सुनसरी, मोरङ्, सिरहा, धनुषा लगायतका तराईका जिल्लामा आन्दोलन बिस्तार भएपछि सिनो फाल्नै पर्ने प्रथाको अन्त्य भएको थियो । त्यसपछि भूमिहीन, हरवा चरवा रहेका बहुसंख्यक दलितहरुको भूमि प्राप्तिका लागि राष्ट्रिय भूमिअधिकार मञ्चको संस्थापक अध्यक्ष भएका राम उच्चस्तरीय भूमिसुधार आयोग २०६५ का सदस्य समेत रहेका थिए ।
बृद्धावस्थामा पनि हलो कोदालो गर्दै आएका राम सिनो बहिष्कार आन्दोलनसँगै स्थापना भएको जनचेतना दलित संगम मधुपट्टिको अध्यक्ष समेत थिए । स्थानीय जमिन्दारहरुको चर्को आर्थिक शोषण, जातीय भेद्भाव, उत्पीडन खेपेका राम सिनो बहिष्कार आन्दोलनसँगै भूमिअधिकार आन्दोलनको अगुवा बनेका थिए । भूमिहीन, दलितहरुको दुःख पीडासँग नजिकिएका राम १४ वर्षको उमेरदेखि नै सामाजिक आन्दोलनमा सरिक हुँदै आएको उनका भाई रामलखन राम बताउँछन् । आफू बसेको ठाउँ कनकपुर क्षेत्रमा मात्र दुई हजार तीन सय भन्दा बढीको संख्यामा रहेका मोहीहरुको समस्या भेटिएपछि साम मोहियानी हक प्राप्तिको आन्दोलनमा लागेका थिए ।
दर्जनौं सम्मान र पुरस्कार
भूमिहीन, सुकुम्बासी हरवा चरवा आन्दोलनको नेतृत्व गरी दलित समुदायलाई अधिकार प्राप्तिका लागि संगठित गर्ने अभियान चलाएका राम आफ्नो जीवनकालमा दर्जनौं पटक सम्मानित र पुरस्कृत भएका थिए । राष्ट्रिय मानवअधिकार आयोगको १७ औं वार्षिकोत्सवसँगै राम २४ औं प्रकाश मानवअधिकार स्मृति दिवसको अवसरमा जिल्लामै वैद्य– प्रकाश मानवअधिकार पुरस्कार– २०७३ बाट सम्मानित भएका थिए ।
त्यसअघि राम वि.सं. २०७१ मा राष्ट्रिय दलित आयोगको १३ औं वार्षिकोत्सव, अखिल नेपाल किसान संघको स्वर्ण जयन्ती (१६ वैशाख २०५८), भूमि सरोकार मञ्च (२०६४), राष्ट्रिय मानवअधिकार आयोग (२०६४), जनउत्थान प्रतिष्ठान पुरस्कार (२०६२), दलित पत्रकार सरोकार समाज नेपाल (२०६१), टीकाराम पार्की मानव मर्यादा पुरस्कार, समाज कल्याण परिषद्द्वारा अम्बेडकर पुरस्कार (२०६९) द्वारा पुरस्कृत र सम्मानित भईसकेका छन् ।
वि.सं. २००७ मा सप्तरीको मधुपट्टि कनकपुरमा जन्मिएका रामको ६७ वर्षको उमेरमा १७ साउन २०७४ मा हृदयाघातको कारणले आफ्नै घरमा निधन भएको थियो । रामका श्रीमती, दुई छोरी र दुई छोरा छन् ।