हरवा चरवा मुक्ति घोषणाको मधेसका जिल्लाहरुमा स्वागत

सिरहा । २२ औं कमैया मुक्ति दिवसको सन्दर्भमा २ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष सम्बोधनमार्फत् हरवा चरवा मुक्तिको घोषणा गरेपछि मधेसका जिल्लाहरुमा स्वागत गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विशेष पहलमा प्रधानमन्त्री देउवाले हरवा चरवा मुक्तिको घोषणा गरेपछि मधेस प्रदेश अन्तर्गतका जिल्लाहरुमा हरवा चरवाका जनसंगठन, सामाजिक संस्थाहरुले स्वागत गरेका हुन् । हरवा चरवा अधिकार मञ्च सिरहा, सप्तरी तथा लहानस्थित दलित जनकल्याण युवा क्लवले प्रेस विज्ञप्तिमार्फत् घोषणाको स्वागत गर्दै पुनस्र्थापनाको एकीकृत प्याकेजसहित प्रभावकारी ढंगले काम अगाडि बढाउन आग्रह गरेका छन् ।
विज्ञप्तिमा कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐन कार्यान्वयन भएको २२ औं वर्षमा घोषणा भएको हरवा चरवा मुक्तिको सन्दर्भमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अगुवाईमा बिस्तारिक कार्ययोजना निर्माण र मन्त्रिपरिषद्बाट स्वीकृत गरी पुनस्र्थापना गरिनु पर्ने, मुक्तिको घोषणालाई व्यवहारमा कार्यान्वयन गर्न हरवा चरवा प्रतिनिधि रहेको तत्काल अधिकार सम्पन्न केन्द्रीय तथा प्रदेश स्तरमा संरचना निर्माण गरिनु पर्ने उल्लेख छ ।
त्यस्तै, प्रधानमन्त्रीबाट गरिएको चार बुँदे घोषणालाई संकल्प प्रस्तावका रुपमा व्यवस्थापका संसद्बाट पारित गरिनु पर्ने, मुक्त हरवा चरवाको वास्तविक तथ्यांक संकलन गरी परिचय पत्र बाँडियोस्, हरवा चरवाको बिस्तृत कार्ययोजना, नीतिसहित कानुन अनुसार प्रभावकारी संरचना निर्माण गरिनु पर्ने, हरवा चरवाको बीमा र सीप, रोजगारी तथा आयआर्जनका लागि कार्यक्रम तथा बजेटको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै, श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले प्रस विज्ञप्तिमार्फत् हरवा चरवा मुक्ति घोषणाको स्वागत गर्दै मुक्ति र पुनःस्थापनाको कार्यलाई एकीकृत ढंगले अगाडि बढाउन आग्रह गरेको छ ।