
सिरहा । सिराहाको गोलबजार नगर कार्यपालिकाले करारका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेपछि आइतबार आधारभूत स्वास्थ्य सेवा समेत प्रभावित बनेको छ ।
नगरकार्यपालिकाको गत ३० असारको निर्णयको आधारमा करार सेवा अन्तर्गत कार्यरत कर्मचारीहरुको १ साउनदेखि म्याद थप नगरिने भएपछि आइतबार आधारभूत स्वास्थ्य सेवा समेत प्रभावित भएको हो । गोलबजार ८ का करिब ७० वर्षीय लखन मण्डलले आफ्नै गाउँ नजिकैको स्वास्थ्य केन्द्रमा आइतबार दिउँसो जँचाउन पुग्दा स्वास्थ्यका कर्मचारी नआएर बन्द रहेकाले त्यतिकै घर फर्किनु परेको बताए ।
करारमा कार्यरत गोलबजार ४, ५ ८ र १० नं. वडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका कार्यालय सहयोगीसहित १२ जना कर्मचारी हटाइएपछि आइतबार दिनभरजसो सेवा अबरुद्ध रहेको स्थानीय बासिन्दा बताउँछन् । चारवटै केन्द्रमा एक अहेव, एक अनमि र एक कार्यालय सहयोगी गरी १२ जना करारका कर्मचारी रहेको नगरका स्वास्थ्य शाखा संयोजक सरोज कर्णले बताए ।
नगरको स्वास्थ्य शाखा अन्तर्गत करार सेवाका ३० जनामध्ये १२ जना सेवा केन्द्र र बाँकी अन्य स्वास्थ्य संस्थामा रहेको संयोजक कर्णले बताए । करार सेवाका कर्मचारीको म्याद थप नभएपछि स्वास्थ्य चौकीहरुमा रहेका स्थायी दरबन्दीका कर्मचारीहरुको व्यवस्थापन गरेर आइतबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको सेवा सुचारु गरिएको कर्णले दावी गरे । ‘नगर कार्यपालिकाले अर्को निर्णय नहुँदा जनशक्ति व्यवस्थापन गर्न केही कठिनाई मात्र भएको हो’ उनले भने ।
क– कसलाई हटाइयो ?
नगर कार्यपालिकाको निर्णय अनुसार भन्दै गत ३० असारमा सूचना प्रविधि शाखाका सूचना प्रविधि अधिकृत, प्रधानमन्त्री रोजगार कार्याक्रमका संयोजकसहित सव– इञ्जिनियरहरु, गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमका सबै कर्मचारी, पंजीकरण शाखाका एमएसआइ अपरेटर र फिल्ड सहायकहरुको म्याद थप नगरिने जनाइएको छ ।
त्यस्तै, कृषि तथा पशु शाखाका सबै कर्मचारी, स्वास्थ्य शाखा र स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत, हेल्थ अस्स्टिेन्ट, अहेव, स्टाफ नर्स, अनमि र कार्यालय सहयोगीहरु, नगरका सबै वडाका कार्यरत कम्प्युटर अपरेटरहरु, भौतिक पूर्वाधार विकास शाखाका इञ्जिनियर, सव– इञ्जिनियर, सहायक सव इञ्जिनियर र सुपरभाइजरहरु, नापी शाखाका अमिन, खेलकूद प्रशिक्षक र काजका शिक्षक, नगर प्रहरीहरु र कार्यालय सहयोगीहरुको म्याद थप नगरिने सूचनामा उल्लेख छ ।
करार सेवा अन्तर्गत पछिल्लो पाँच वर्षदेखि दुई/ दुई जना इञ्जिनियर र सव इञ्जिनियर, एक जना मेडिकल अधिकृत, दुई जना स्टाफ नर्स, छ जना अनमि, चार जना अहेव कार्यरत रहेको बताइएको छ । त्यस्तै, सहायक कम्प्युटर अपरेटर, एक जना अमिन, १५ जना नगर प्रहरी, दुई जना सुपरभाइजर, एक जना सूचना प्रविधि अधिकृत, एक जना ल्याव असिस्टेन्ट, कृषि/ पशुका तीन जना प्राविधिक सहायक, २० जना कार्यालय सहयोगी र अन्य तीन जना गरी ७५ जना करारका कर्मचारी कार्यरत रहेको जनाइएको छ ।
आन्दोलन गर्दै करारका कर्मचारी
आफूहरु बिना कारण निकालिएको भन्दै गोलबजार नगरपालिका करार कर्मचारी संघर्ष समितिले करार कर्मचारी हटाउने अन्यायपूर्ण निर्णय सच्याउन मागसहित प्रमुख प्रशासकीय अधिकृतमार्फत् नगर प्रमुख श्यामकुमार श्रेष्ठलाई आइतबार ज्ञापनपत्र बुझाएको छ । नगर कार्यपालिकाले रातारात गरेको अन्यायपूर्ण निर्णयले आफूहरु रोजगारविहीन भएको भन्दै तत्काल काममा फर्किने वातावरण बनाउन माग गर्दै संघर्ष समितिले ज्ञापन पत्र बुझाएको हो । संघर्ष समितिका संयोजक कसम लामाले कर्मचारीको माग तत्काल सम्बोधन नभए आफूहरु चरणबद्ध आन्दोलनमा जाने बताए ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले करारका कर्मचारीहरुको म्याद नथप्ने निर्णय २४ घण्टाभित्र सच्याउन माग गरेको छ । ‘लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन नै नगरी राजनीतिक पूर्वाग्रह र गलत मनसायले गरेको निर्णयको भत्र्सना गर्छौं’ नगर अध्यक्ष जीवन यादवले भने । तत्काल पुनःबहाली गर्न दिइएको अल्टिमेटमको उपेक्षा गरिए आफूहरु कडा आन्दोलनमा उत्रिने उनले बताए ।
पुनःबहाली गर्न अधिकृतलाई पत्राचार
करारका कर्मचारीको करार म्याद नथप्ने विषयमा आफूसँग कुनै सल्लाह नगरेको भन्दै सिराहाको कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले आइतबार करारका सबै कर्मचारी पुनःबहाली गर्न प्रमुख प्रशासकीय अधिकृतलाई पत्र काटेकी छन् । नगर कार्यापालिका बैठक निर्णयले कसैलाई पनि कामकाजबाट हटाउने निर्णय नगरेको भन्दै उनले करारका सबै कर्मचारीलाई पुनःबहाली गराउन अधिकृतलाई पत्र काटेकी हुन् ।
नगरपालिकाको गत २४ असारको गतेको निर्णय नम्बर २० बमोजिम विभिन्न मितिमा करार सम्झौता तथा अस्थायी करार एवम् परामर्श सेवा मार्फत् कर्मचारीहरुलाई सम्झौता पत्र अनुसार पद, तह, दर्जा एवम् नेपाल सरकारले तोके बमोजिम सेवा सुविधा उपलब्ध गराउने निर्णयबाहेक अन्य निर्णय नभएको पत्रमा उलेख छ । ‘एकलौटी रुपमा कुनै छलफल र कार्यसम्पादन मूल्यांकन नै नगरी नगरपालिकाका १५ जना करारका कर्मचारीलाई मात्र म्याद थप नगर्ने ३१ असारको निर्णय भएको देखिंदा कार्यसम्पादन नभएसम्मका लागि करार सेवाका कर्मचारीहरुलाई कामकाजमा पुनःबहाली गर्नु हुन जानकारी गराइन्छ’ पत्रमा भनिएको छ ।