कोरोना प्रभावित भन्दै ठेकेदारले तिर्नु पर्नेझण्डै आधा रकम मिनाहा, भ्रष्टाचार भएको भन्दै छानबिन गर्न मेयरको माग

लहान । सिराहाको लहान नगरपालिकामा गत आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकाको स्वामित्वमा रहेको हाट बजार, पशु बजार, नदीजन्य पदार्थ लगायतको ठेक्का लिएका १० जना ठेकेदारले तिर्नुपर्ने एक करोड साढे ३१ लाख रुपैयाँभन्दा बढी रकम मिनाहा गरिदिएको खुलेको छ ।
नगरका निवर्तमान मेयर मुनि साहले आफू नजिकका ठेकेदारहरुले तिर्नेपर्ने एक करोड ३१ लाख ५१ हजार सात सय ४६ रुपैयाँ ११ पैसा मिनाहा गरी नगरलाई आर्थिक क्षति पुर्याउनुका साथै भ्रष्टाचार गरेको भन्दै वर्तमान मेयर महेश प्रसाद चौधरीले छानबिनको माग गरेका छन् । मेयर चौधरीले नगरपालिकाको आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनमार्फत् नगरपालिकाको विभिन्न शीर्षकमा ८० जनाले ठेक्का लिएको भएपनि आफू नजिकका १० जना ठेकेदारलाई छानेर कोरोना प्रभावित भन्दै तिर्नुपर्ने रकम मिनाहा गरिदिई भ्रष्टाचार गरेकाले सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने माग गरे ।
‘कोराना प्रभावित त बाँकी ७० जना ठेकेदार पनि थिए नि’ उनले भने ‘मिनाहा गर्नैपर्ने भए सबैलाई प्रभावको आधारमा निश्चित प्रतिशत रकम मात्र मिनाहा गर्न सकिन्थ्यो तर छानिएका ठेकेदारले मात्र छुट पाउनुले भ्रष्टाचार भएको सहजै अनुमान गर्न सकिन्छ ।’ नगरको आ.व. २०७७/०७८ को ३० पुस २०७८ मा भएको नवौं नगरसभाबाट गोप्य रुपले १० जना ठेकेदारले तिर्नुपर्ने दुई करोड ९३ लाख ८६ हजार २४ रुपैयाँ ५६ पैसा मध्ये एक करोड ३१ लाख ५१ हजार सात सय ४६ रुपैयाँ ११ पैसा मिनाहा भएको पाइएको उनले बताए ।
नगरका प्रमुख प्रशासकीय अधिकृत खेनन्द भुसालले ठेकेदारले कबोल गरेको ठेक्का रकम मिनाहा गर्नुपर्ने कुनै आधार नभएको बताए । ‘कोरोनाको प्रभाव मात्र भनेर पुग्दैन, त्यसको पुष्टि हुने आधार समेत नदेखाई ठेक्का रकम मिनाहा हुँदा नगरलाई आर्थिक क्षति भएको छ’ उनले भने ।
कसको कति रकम मिनाहा ?
नगरपालिकाको राजश्व शाखाका अनुसार लहान १९ स्थित ए.आर. कन्सट्रक्सनको गुदरी हाट बजार सेवा शुल्कको ठेक्का रकम १९ लाख पाँच सय ५२ रुपैयाँमध्ये सात लाख ९६ हजार ९६ रुपैयाँ ८६ पैसा मिनाहा भएको छ भने लहान ९ का मो. इसा मियाँको खसीबाख्रा हाट बजार सेवा शुल्कवापत्को ठेक्का रकम १५ लाख पाँच सय ५१ रुपैयाँमध्ये पाँच लाख २३ हजार ६० रुपैयाँ मिनाहा भएको छ ।
त्यस्तै, लहान ७ का जयनाथ प्रसाद रौनियारको बैलहाटको ५२ हजार एक सय ५५ रुपैयाँमध्ये २६ हजार सात सय २० रुपैयाँ ४३ पैसा र खसीबाख्रा हाट बजारको १३ लाख नौ हजार ९० रुपैयाँ ९२ पैसामध्ये तीन लाख ७५ हजार चार सय एक रुपैयाँ ५२ पैसा मिनाहा भएको छ । लहान ६ का अरुण कुमार महतोले बस पार्कको तिर्नुपर्ने १३ लाख ५१ हजार रुपैयाँमध्ये तीन लाख ७६ हजार चार सय २३ रुपैयाँ ७७ पैसा नगरसभाको निर्णयको आधारमा मिनाहा गरिएको राजश्व शाखाले जनाएको छ । शाखाका अनुसार लहान ५ का पशुपति साहले गुदरी हाटबजारको सेवा शुल्कको ठेक्का रकम १६ लाख ४५ हजार तीन सय ६३ रुपैयाँ ६४ पैसामध्ये चार लाख २९ हजार चार सय ८८ रुपैयाँ २३ पैसा मिनाहा भएको छ ।
त्यसैगरी, लहान ५ की विमलादेवी रायले गुदरी हाटबजारको ठेक्का रकम ५० हजार एक सय रुपैयाँमध्ये २५ हजार आठ सय एक रुपैयाँ ५० पैसा, लहान ५ कै पशुपति साहले गुदरी हाट बजार सेवा शुल्कको ५१ हजारमध्ये सतप्रतिशत मिनाहा पाएका छन् । लहान ७ को जयकाली सप्लायर्सले वातावरण नदी नियन्त्रण शीर्षकमा लिएको ८३ लाख २१ हजार एक सय ११ रुपैयाँमध्ये ५४ लाख ५४ हजार दुई सय ४७ रुपैयाँ १० पैसा र नदीजन्य पदार्थको एक करोड ३२ लाख ५१ हजार एक रुपैयाँमध्ये ५१ लाख ३९ हजार चार सय छ रुपैयाँ ९३ पैसा मिनाहा भएको छ ।
नीति बमोजिम छुट दिइएको दावी
नगर प्रमुखले पत्रकार सम्मेलनमार्फत् पूर्व नगर प्रमुखले नगरसभाबाट एक करोडभन्दा बढी रकम मिनाहा गरेर भ्रष्टाचार गरेको सार्वजनिक गरको पाँच दिनपछि २० असारमा नेकपा एमाले लहान नगर कमिटिले प्रेस विज्ञप्तिमार्फत् ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेका नगर कमिटटि अध्यक्ष राजुमार साहले प्रेस विज्ञप्तिमार्फत् पशु हटिया, बाख्रा बजार, गुद्री बजार, सर्रे खोला ठेक्का साना स्थानीय बजार लगायत १० जना ठेकेदारले कोभिडको समयमा काम नै गर्न नपाएको दावी गरेका छन् । विज्ञप्तिमा एक वर्षे ठेक्काको म्याद पनि थप्न नमिल्ने प्रकृतिको भएको, संघीय सरकार र प्रदेश सरकारको समेत लकडाउनबाट प्रभावितहरुलाई राहत छुट दिने नीति बमोजिम नगरपालिकाले कार्यपालिका र नवौं नगरसभाबाट निर्णय गरी कोभिडको मारमा परेका ठेकेदारहरुको रकम मिनाहा गरिएको उल्लेख छ ।