व्यक्तिगत घटना दर्तासहित चार किल्ला प्रमाणित र एम्बुलेन्स पनि निःशुल्क घोषणा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले व्यक्तिगत घटना दर्तासहित जग्गाको चार किल्ला प्रमाणित र एम्बुलेन्स सेवा निःशुल्क गर्ने घोषणा गरेको छ ।
नगर प्रमुख सुकदेव यादवले २६ जेठमा नगर क्षेत्रमा पर्ने १ देखि १० नं. वडा कार्यालयलाई पत्राचार गर्दै नागरिकता, जन्मदर्ता, विाह दर्ता, मृत्यु दर्ता, बसाईसराई, घर बाटो, चार किल्ला प्रमाणित र एम्बुलेन्स सेवा निःशुल्क गर्ने जनाएका छन् । पत्रमा कोरोना महामारी तथा आर्थिक मन्दीले नगर क्षेत्रका गरिब, बिपन्न, एकल महिलाको दैनिकी कष्टकर रहेकाले नगर क्षेत्रमा २७ जेठदेखि उक्त सुविधा निःशुल्क गरिने उल्लेख छ । धनुषा जिल्लाभित्रका स्वास्थ्य संस्था र अस्पतालसम्म पुर्याउन गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिने पत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ कानुनी व्यवस्था
अन्य सिफारिशको हकमा नगर वा गाउँपालिकाले आफ्नो तजविजी गर्न सक्ने भएपनि व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गर्दा स्वतः निःशुल्क हुने व्यवस्था हुँदाहुँदै निःशुल्क गर्ने भनिएको व्यक्तिगत घटना दर्ता घटना भएकैदेखि हो वा ३५ दिन कटेका लागि पनि हो भन्ने नखुलेकाले वडा कार्यालयका कर्मचारीहरु नै अन्यौलमा रहेको बताउँछन् ।
व्यक्तिगत घटना दर्ता सम्बन्धी विद्यमान व्यवस्था अनुसार व्यक्रिगत घटना दर्ता गर्दा वा हराएर नयाँ बनाउँदा ३५ दिन म्याद कटेकाहरुको हकमा तोकिएको राजश्व शुल्क नै दाखिला गर्नुपर्छ । ‘त्यो विषयमा नगरपालिकाले के गर्ने भन्ने नखुलाई निःशुल्क मात्र भनिदिंदा संघीय सरकारलाई व्यक्तिगत घटना दर्ताको राजश्व दाखिला कसरी गर्ने भन्ने अन्यौलमा छौं’ एक वडाध्यक्षले भने ।