सबै क्षेत्रको समविकास गर्ने नगर प्रमुख मलाहाको प्रतिबद्धता

सप्तरी । डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामलखन मलाहाले आग्रह, पूर्वाग्रह नराखी सबै वडा र क्षेत्रको समविकास गरिने प्रतिबद्धता जनाएका छन् । नगरपालिका परिसरमा शुक्रबार आयोजित शपथ ग्रहण र पदस्थापन कार्यक्रममा नगर प्रमुख मलाहाले आफूले जस्तै सबै वडाका जनप्रतिनिधिले आग्रह, पूर्वाग्रह नराखी काम गर्ने विश्वास व्यक्त गरे ।
नगर प्रमुख मलाहाले उपप्रमुख मिराकुमारी यादवसहित वडाध्यक्षहरु र सदस्यहरुलाई सामूहिक शपथ खुवाउँदै भने ‘सबैको सहयोगमा मात्र समग्र क्षेत्रको चौतर्फी विकास गर्न सकिन्छ ।’ विभिन्न क्षेत्रका विज्ञहरुको सल्लाह र परामर्शमा एक वर्षभित्र नगरका लागि आवश्यक कानुन, नीति, नियम निर्माण गरिने बताउँदै उनले भने ‘पद प्राप्त गर्नुभन्दा असल भूमिका निर्वाह गर्नु महत्वपूर्ण कुरा हो, अन्य उम्मेदवारलाई मत दिने जनताको अपेक्षा र आशालाई समेत विश्वासमा परिणत गर्ने अभिभारा पूरा गर्नेछु ।’ जनप्रतिनिधिहरुले जनताको इशारा र संकेत बुझ्न जरुरी रहेको उल्लेख गर्दै उनले जनताको सुझावलाई मार्ग निर्देशनका रुपमा ग्रहण गर्नुपर्ने औंल्याए ।


कार्यक्रममा संविधानसभा सदस्य ताराकान्त चौधरीले सिंचाई, मलखादको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न आग्रह गरे । गुणस्तरीय शिक्षाका लागि विशेष ध्यान दिंदै अस्तव्यस्त अवस्थालाई चुस्तदुरुस्त बनाउन र अविलम्ब स्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने जनप्रतिनिधिलाई चौधरीको सुझाव थियो ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख शिवनारायण साह, जिल्ला विकास समितिका पूर्व सदस्य हरिसुदन यादव, उपप्रमुख मिराकुमारी यादव, निर्वाचन अधिकृत शम्भुनाथ मगर, प्रत्याशी उम्मेदवार बेचु साह, प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, डाक्नेश्वरी ९ का वडाध्यक्ष कर्णदेव चौधरी, नेकपा (एमाले) सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिर लगायत विभिन्न दलका प्रतिनिधिले नव निर्वचित जनप्रतिनिधिको सफल कार्यकालका लागि शभकामना व्यक्त गरे । शपथ ग्रहण लगत्तै नगर प्रमुख मलाहा र उपप्रमुख यादवले पदभार ग्रहण गरे ।