
सिरहा । सिराहाको दक्षिणी सीमावर्ती बरियापट्टि गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका ४५ वर्षीय सन्तोषकुमार एउटै वडाध्यक्ष नजिती पुनः दोस्रो कार्यकालका लािग निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय बरियारपट्टिले आइतबार बिहान सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणाम अनुसार महतो तीन सय १० मतान्तरले दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष महतोले तीन हजार आठ सय ४४ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्रप्रसाद यादवले तीन हजार पाँच सय ३४ मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकै बालेश्वर यादवलाई एक हजार ९८ मतान्तरले तीन हजार नौ सय ७९ मतसहित महतो गाउँपालिकाको पहिलो अध्यक्ष निर्वाचित भएका थिए । त्यतिबेला गाउँपालिका उपाध्यक्षसहित १, २, ३ र ५ नं. को वडाध्यक्ष आफ्नो पक्षमा पार्न सफल जसपाले यो निर्वाचनमा एउटा वडाध्यक्ष पनि जित्न सकेन । यो पल्ट कांग्रेसले ४ नं. वडा आफ्नो पक्षमा कायम राख्दै १, २ र ५ नं. वडामा पनि जित निकालेको छ भने नेकपा माओवादी केन्द्रले ३ नं. वडाध्यक्ष जितेको छ ।
जसपाको अध्यक्षसहित नौ सिट, कांग्रेस १५
कांग्रेसकी ३४ वर्षीया ममता कुमारीले उपाध्यक्ष पदमा पाँच सय १२ मतको मतान्तरले जसपाकी सियाकुमारी यादवलाई पराजित गरेकी छन् । ममताले तीन हजार नौ सय ९७ मत ल्याएकी छन् भने निकटतम् प्रतिद्वन्द्वी यादवले तीन हजार चार सय ८५ मत प्राप्त गरेकी छन् ।
गाउँपालिका अध्यक्षसहित जसपाले सदस्य चार, महिला सदस्य तीन र दलित महिला सदस्य एक गरी कुल नौ सिटमा जित निकालेको छ भने कांग्रेस उपाध्यक्ष, चार वडाध्यक्ष, सदस्य पाँच, महिला सदस्य दुई र दलित महिला सदस्य तीनसहित १५ पदमा निर्वाचित भएको छ ।
गाउँपालिकाको ३ नं. वडा मात्र जितेको माओवादी केन्द सदस्य एक र दलित महिला सदस्य एक गरी तीन पदमा निर्वाचित भएको छ ।