
सिरहा । विद्यालय तहको महत्वपूर्ण मानिने माध्यमिक शिक्षा परीक्षा (एसइइ) ९ वैसाख (शुक्रबार) देखि शुरु भएको छ । परीक्षामा देशभरका सामुदायिक तथा संस्थागत विद्यालयका पाँच लाख १४ हजार सात सय ६० जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसइइ परीक्षा शुक्रबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै लिइँदैछ । सिरहा जिल्लाका एक सय ६२ विद्यालयका १० हजार छ सय ४० जना छात्र–छात्रा एसइइको परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई सिरहाले जनाएको छ । इकाईका निमित्त प्रमुख रामवृक्ष महतोका अनुसार जिल्लामा ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने तर प्राविधिक धारतर्फका सबै विद्यार्थीको परीक्षा जिल्ला सदरमुकाम सिरहास्थित बाल बन्दिर विद्यालयमा हुँदैछ । अघिल्ला वर्षहरुमा ग्रेड बृद्धिको लागि छुट्टै परीक्षा केन्द्र संचालन गरेपनि यो पटक सबैलाई एकै ठाउँमा राखेर परीक्षा लिइँदैछ ।
परीक्षका लागि देशभर दुई हजार सात परीक्षा केन्द्रबाट नियमिततर्फ चार लाख ८८ हजार सात सय ४२ र ग्रेड बृद्धितर्फ ११ हजार चार सय ५४ विद्यार्थी परीक्षार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा बोर्डले एसइइको नतिजा सार्वजनिक गरेको थियो ।