
सप्तरी । सााहित्य क्षेत्रका नवप्रतिभाहरूलाई प्रोत्साहन र नयाँ कार्यसमिति गठन गर्दै प्रगतिशील लेखक संघ (प्रलेस) सप्तरीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले सर्वसम्मत रूपमा मेघराज पौड्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । पौडेल पहिलो जिल्ला सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । नवनिर्वाचित समितिको उपाध्यक्ष पुनम पोखरेल, सचिव ईश्वरीप्रसाद नेपाल र कोषाध्यक्ष गिरीराज पौडेल निर्वाचित भएका छन् ।
समितिमा सदस्यहरू मनोहर पोखरेल, सुमित्रा दास, किशोर चौधरी, इन्द्रबहादुर थापा, अभित चौधरी, जयराम मण्डल र बैजनाथ यादव चयन भएका छन् । सम्म्ेलनको उद्घाटपछि मुरारी कार्की, तिर्थराज पोखरेल र गजेन्द्रप्रसाद दास रहेको अध्यक्ष मण्डल गठन गरी बन्द सत्र संचालन गरिएको थियो । बन्द सत्रमा निवर्तमान अध्यक्ष पार्वती राउतले सांगठनिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष ईश्वरीप्रसाद नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मेघराज पौडेलको स्वागत मन्तव्य र गिरीराज पौडेलको उद्घोषण रहेको सम्मेलनमा एक दर्जन स्रष्टाहरुले कविता र लघुकथा वाचन गरेका थिए । सम्मेलनमा स्थानीय सर्वोदय मा.वि.का विद्यार्थी समेत रहेका नवप्रतिभाहरू सुमित्रा परियार, प्रज्ञा कोइराला र विपशा चौधरीलाई प्रोत्साहनका लागि रातो गम्छा ओढाएर सम्मान गरिएको थियो । नवप्रतिभाहरुले सम्मेलनमा अन्य स्रष्टाहरुसँगै आ–आफ्नो कविता वाचन गरेका थिए ।
यथास्थितिवादी संस्कृति विरुद्ध अग्रसर हुन जोड
सम्मेलनको उद्घाटन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य दिवाकर देवकोटाले पश्चिमा संस्कृति र यथास्थितीवादी संस्कृति हावी रहेकोले त्यसको विरुद्ध प्रगतिशील लेखकहरू अग्रसर हुनुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्य सरिता गिरीले समाज परिवर्तका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भन्दै सांस्कृतिक जागरणका लागि प्रगतिवादी आन्दोलन आवश्यक रहेको औंल्याइन् ।
कञ्चनरूप नगरपालिका प्रमुख बसन्त कुमारले राजनीतिक दलका नेताहरूलाई पथप्रर्दशनका लागि लेखक, साहित्यकारहरूले खबरदारी गरिरहनु पर्ने बताए । सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेलले राजनीतिक दलहरू र जनप्रतिनिधिहरूलाई सही बाटो हिंडाउन प्रगतिशील लेखकहरूले खबरदारी गरिरहनु पर्ने बताए ।
सम्मेलनमा प्रलेस उदयपुरका सचिव श्याम ढुङ्गाना, सर्वोदय मा.वि. कञ्चनरूपका पूर्व प्रधानाध्यापक तिर्थराज पोखरेल, मुरारी कार्की, विश्वनाथ न्यौपाने, हिरण्य गुप्ता लगायतले साहित्यकारहरूले संगठित रूपमा प्रभावकारी भूमिका खेल्ने बेला आएको चर्चा गर्दै सामाजिक विकृतिको भण्डाफोर गर्न र प्रगतिवादी आन्दोलनलाई माथि उठाउन आग्रह गरे ।