सामाजिक सञ्जालको असर र जोगिने उपाय बारे अभिमुखीकरण

सप्तरी । जिल्ला सदरमुकाम राजविराज नगरपालिका ५ स्थित पब्लिक बिन्देश्वरी मा.वि.मा ‘सामाजिक सञ्जालले विद्यार्थीमा पारेको असर र जोगिने उपाय’ को बारेमा सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा आयोजित नगर स्तरीय मानव अधिकार निगरानी समूहको सहकार्य र प.बि.मा.वि.को समन्वयमा अभिमुखीकरण गरिएको हो । बाल अधिकार चेतना समूहको कार्ययोजनाको आधारमा संचालित अभिमुखीकरणमा कक्षा ८, ९ र ११ का गरी एक सय ३१ विद्यार्थीको सहभागिता थियो ।
सामाजिक सञ्जालको प्रयोगसँगै बढ्दो दुरुपयोग
कार्यक्रममा इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले सहजीकरण गर्दै सामाजिक सञ्जाल प्रयोग गर्ने कि प्रयोग हुने कुरामा सबैले विचार पु¥याउनु पर्ने बताए । सामाजिक सञ्जालको आकर्षण र मोहले प्रयोगसँगै दुरुपयोगको क्रम पनि बढ्दै गएकाले त्यसले दैनिकी नै आक्रान्त पारेको चर्चा गर्दै उनले नकारात्मक असरले सामाजिक र पारिवारिक विचलनसँगै व्यक्तिमा संवेगात्मक विचलन हावी भइरहेकोप्रति सजग हुन आग्रह गरे ।
‘विभिन्न सूचना र जानकारी पाइने इन्टरनेटमार्फत् स्क्रिनमा धेरै समय बिताउँदा युवा जमातमा लत बढेको छ, समय र धनकोे बर्वादीसँगै स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको छ’ उनले भने ‘बालबालिकाको विकासका लागि परिवारसँगको कुराकानी महत्वपूर्ण हुने भएपनि बालबालिकाहरु सामाजिक सजालमा घण्टौं समय बिताउन एकान्त मन पराउन थालेका छन् । सञ्जाललाई बढी समय दिदा परिवारसँगको सम्वाद कम भएको छ र कृत्रिम सम्बन्धले बढी महत्व पाएको छ ।’
इन्टरनेट बिना बाँच्नै नसक्ने विश्व परिवेशमा सामाजिक सञ्जालमा आएका सामाग्रीमध्ये के हेर्ने, के पढ्ने, के शेयर गर्ने र के लेख्ने भन्ने प्रश्न चेतनशील मानिसले स्वयम्सँग गरिरहनु पर्ने खाँचो औंल्याए । अभिमुखीकरणमा सहभागी विद्यार्थीहरुले सूचनाको प्राविधिक पक्षको महत्व र सामाजिक सञ्जालले पार्ने सामाजिक प्रभाव र असरबारे छलफल गर्दै जिज्ञासाहरु राखेका थिए । मानव अधिकार निगरानी समूहका सचिव दिनानाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक गिरीराज पौडेल र इन्सेक इएलपी परियोजनका सहजकर्ता दिपक यादवले नीतिगत तथा व्यवहारिक सुधारबाट सामाजिक सञ्जालको दुरुपयोग रोक्न साझा पहल आवश्यक रहेको औंल्याए ।