महिनावारीमा छात्राको अनियमितता रोक्न आराम कक्ष, सरसफाई सामग्रीसहित प्याडको सुविधा

सिरहा । लहान नगरपालिका २४ गोविन्दपुर घर भएकी १५ वर्षीया सन्ध्या बस्नेत महिनावारी हुँदा हरेक महिनाको करिब पाँच दिन विद्यालय जान्थिनन् । हरेक महिनावारीको अवधिमा विद्यालयमा प्याड फेर्ने व्यवस्थित कोठा र शौचालय समेत नहुँदा बाध्य भएर घर बस्थिन् तर अहिले विद्यालयमै आराम गर्ने व्यवस्थित कोठासहित प्याड फेर्ने ठाउँ, आराम कक्ष, तातो पानी, प्राथमिक उपचार किटको समेत व्यवस्था भएपछि सार्वजनिक विदाको दिनबाहेक प्रायः विद्यालय नछुटेको उनले बताईन् ।
‘विद्यालयमै किशोरीमैत्री व्यवस्थित शौचालय, जेण्डर डेस्कसहित आराम कक्ष र सेनिटरी प्याड उपलब्ध हुन थालेपछि विद्यालय नियमित जाने गरेकी छु’ उनले भनिन् । बस्नेतसँगै एउटै कक्षामा पढ्ने गोविन्दपुरकी कंचन कोइराला, विनिता यादव र सरस्वती सिंह पनि महिनावारीको बेलामा हुने पीडा, सेनिटरी प्याड फेर्न ठाउँको व्यवस्थासहित आराम कक्ष बनेपछि नियमित विद्यालय जाने गरेको बताउँछन् ।
लहान २४ गोविन्दपुरस्थित लेखनाथ मा.वि.मा अध्ययनरत पाँच सय ६६ विद्यार्थीमध्ये तीन सय तीन जना छात्रा रहेको विद्यालयका प्रधानाध्यापक रामविलेक्षण सिंहले बताए । ‘विद्यालयका करिब अढाई सय छात्रामध्ये विद्यालय खुलेका बेला दैनिक कक्षा ५ माथिका १० जनाभन्दा बढी किशोरी विद्यालय आउँदैनथे’ प्र.अ. सिंहले भने ‘अहिले छात्राको उपस्थिति रहने गरेको छ ।’
ओछ्यान र उपचार किटसहितको कक्ष
प्र.अ. सिंहका अनुसार विद्यालयमा अध्ययन गरिरहेका कक्षा ५ माथिका बालबालिकाहरु आबद्ध रहेको बाल क्लव गठनपछि महिनावारी र स्वच्छताको विषयमा अभिमुखीकरण संचालन गरी जेण्डर डेस्क स्थापना गरिएको हो । वाटर एड नेपालको सहयोगमा लहानस्थित दलित जनकल्याण युवा क्लवद्वारा वडा कार्यालयको समन्वयमा विद्यालयमा संचालित समावेशी बालिका शिक्षा अन्तर्गत जेण्डर डेस्क स्थापना गरिएको क्लवका कार्यकारी निर्देशक विनोदकुमार विसुन्केले बताए ।
उनका अनुसार डेस्कमा खाटसहितको ओछ्यान, सरसफाइ र स्वच्छता सम्बन्धी सूचनामूलक पोष्टर, कुर्सी, शुद्ध पानीको फिल्ट, महिनावारीको समयमा प्रयोग गरिने सामग्रीको दराज, प्राथमिक उपचार किट राखिएको छ । ‘महिनावारी भएको बेलामा पनि विद्यालय आएका छात्राहरुका लागि व्यवस्थित डेस्क स्थापनाले छात्राहरु उत्साहित छन्’ उनले भने ‘त्यसका साथै विद्यालयमा अपांगमैत्रीसहित १२ कोठे छात्र र १३ कोठे छात्रा शौचालय तथा दुई वटा ब्लक छात्र र एउटा छात्राका लागि युरिनल शौचालय निर्माण हुँदैछ ।’
पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउँदै किशोरीहरु
लहान २४ अन्तर्गत पर्ने लेखनाथ मा.वि.सहित मानिकदह, डाँडाटोल र यादव टोलका आधारभूत तहका गरी चार विद्यालयका एक सय ५० जना किशोरीहरु स्वयम्ले प्याड बनाइरहेको किशोरीहरुका लागि फोकल शिक्षिका प्रभा घिमिरेले बताइन् ।
‘महिनावारीको बेलामा प्रयोग गर्न बजारमा पाइने प्याड महँगो र पुनः प्रयोग गर्न नमिल्ने भएकाले किशोरीहरु आफैंले बनाउँदा कम खर्चिलो र पुनः प्रयोग गर्ने मिल्ने हुँदा सहज भएको छ’ घिमिरेले भनिन् ‘किशोरीहरुका लागि विद्यालयमा संचालन गरिएको डेस्कमा पनि उनीहरुले बनाएको प्याड नै राख्ने गरिएको छ, साथै आवश्यकता अनुसार घरमा पनि लैजाने गरेका छन् ।’


क्लवले सरसफाइ तथा स्वच्छताका लागि लहान २४ अन्तर्गत पर्ने जनता आधारभूत विद्यालय यादव टोलमा अपांगमैत्री तीन÷तीन कोठे छात्र र छात्रा शौचालय, एक युरिनल ब्लक, जनता आधारभूत विद्यालय मानिक दहमा अपांगमैत्रीसहित तीन कोठे छात्र र दुई कोठे छात्रा शौचालय मर्मत गरिएको क्लवका अध्यक्ष उमेशकुमार विसुन्केले बताए ।
उनका अनुसार दलित भानुभक्त विद्यालय, डाँडाटोलमा अपांगमैत्रीसहित तीन कोठे छात्र र चार कोठे छात्रा शौचालय मर्मत र छात्रको लागि तीन र छात्राको लागि चार वटा युरिनल ब्लक मर्मत गरिएको छ भने जलवायुमैत्री बायोस्याण्ड फिल्टर जडान गरी स्वच्छ खानेपानीको प्रबन्ध गरिएको उनले बताए ।