सर्लाही । पूर्व पश्चिम सडक अन्तर्गत सर्लाहीको फुलजोर पुलबाट आइतबार यात्रुबाहक बस खोलामा खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा भारतको बेतिया बेलसन्धि कोडार पिपरा पंचायत बस्ने २५ वर्षीय सुनिल यादव र सिन्धुलीको तीनपाटन गाउँपालिका २ बस्ने ३० वर्षीया शिला कार्की श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने एक महिलासहित दुई जनाको सनाखत हुन नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।
बीरगंजबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्व–पश्चिम सडक अन्तर्गत लालबन्दी र इश्वरपुर नगरपालिकाको सीमामा पर्ने फुलजोर पुलबाट खोलमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ३२ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।