चाइना इस्टर्नको जहाजमा रहेका सबैको मृत्यु भएको घोषणा

काठमाडौं । चीनमा दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा यात्रा रहेका सबै एक सय ३२ जना यात्रुको मृत्यु भएको घोषणा गरिएको छ । कुनमिङ्बाट ग्वाञ्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ् बुझाउ शहरको टेङ्किङ्कसयान काउन्टीको मोलाङ गाउँ नजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
७ चैतमा भएको दुर्घटनापछि शनिबारसम्म खोजी गर्दा समेत कोही जीवित नभेटिएपछि शनिबार साँझ चिनियाँ अधिकारीहरूले एक सय २३ यात्रु र नौ जना चालक दलका सदस्यको मृत्यु भएको घोषणा गरेको हो । साउथ चाइना मर्निङ् पोष्टका अनुसार बोइङ् ७३७– ८०० एनजी मोडलको जहाज २९ हजार फिटमाथिबाट एक्कासी जमिनमा खसेर दुर्घटना भएको थियो । पहाडको जंगलमा जहाज खसेर आगो लागेपछि खोजीकर्ताहरूले सुरूमै कोही जीवित हुने सम्भावना नरहेको बताएका थिए ।
जहाजमा रहेका यात्रुका आफन्त शव भेटिने आशमा केही दिनअघि दुर्घटनास्थल पुगेका भएपनि खोजीकर्ताहरूले कसैको शव पनि फेला पार्न सकेनन् । खोजीकर्ताहरुले ९ चैतमा जहाजको ब्ल्याक बक्स फेला पारेका थिए । ब्ल्याक बक्सको अध्ययनले जहाजको सबै रेकर्ड पत्ता लाग्न सक्ने भएकाले दुर्घटनाको कारण यकिन गर्न सजिलो हुन्छ । भेटिएको ब्ल्याक बक्स अध्ययनका लागि अहिले बेइजिङ् पठाइएको अधिकारीहरूले जनाएका छन् ।